• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, September 24, 2016

    कोमामा रहेको कामदार फर्काउदै कतार



    आश्विन ९, २०७३- कतारका अस्पतालको अति सघन कक्षमा वर्षौंदेखि उपचाररत नेपाली श्रमिकलाई कतार सरकारले धमाधम फिर्ता पठाउन थालेको छ । कतारमा नेपालीलगायतका कामदारमाथि चर्को श्रम शोषण गरेको, मानव अधिकार हनन गरेको लगायतका मुद्दा अन्तर्राष्ट्रियकरण भएसँगै त्यहाँको सरकारले विभिन्न अस्पतालमा वर्षौंदेखि रहेका नेपाली कामदारलाई फिर्ता पठाउने क्रम बढाएको हो । स्रोतका अनुसार कतारस्थित हमाद अस्पतालले त्यस्ता बिरामीलाई सकेसम्म छिटो फिर्ता पठाउन दोहास्थित नेपाली दूतावासमा दबाब दिइरहेको छ ।
    पछिल्लो ६ महिनामा मात्रै कोमामा रहेका पाँच जनालाई कतार सरकारले फिर्ता पठाइसकेको छ । कतारले २०६६ असोज २ देखि हमाद अस्पतालको कोमामा रहेका नारायणस्थान ९ बाग्लुङका विष्णुबहादुर सुवेदीलाई गत फागुनमा फिर्ता पठाएको थियो । असार १५ मा बर्दिया मगरागढी ८ रम्भापुरका हरिबहादुर बस्नेत र गोर्खा सौरपानी ७ का कालु गुरुङ घर फर्किए । दुई साताअघि बाग्लुङका गिरीप्रसाद विक र रुकुम शंख गाविसका २ का मनोज केसी पनि घर फर्किएका छन् ।

    २०६५ भदौ १९ देखि हमाद अस्पतालको कोममा रहेका महेशपुर १ झापाका श्रीबहादुर नेम्बाङलाई पनि फिर्ता पठाउन अस्पतालले पहल थालिरहेको छ । स्रोतका अनुसार परिवारका सदस्यको स्वीकृति दिनेबित्तिकै श्रीलाई फिर्ता पठाउने अन्तिम प्रक्रिया सुरु हुनेछ । त्यस्तै तीन वर्षदेखि कोमामा रहेका धनुषा नुवाखोर प्रसनी २ का बिन्दे मुखिया विनलाई पनि नेपाल फिर्ता पठाउन अस्पतालले पहल गरिरहेको छ ।

    गत वर्षको २१ मंसिरमा परराष्ट्र मन्त्रालयको कतारका विभिन्न अस्पतालमा कोमामा रहेको नेपालीको विषयमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । उक्त कार्यदलले १६ जना नेपाली विभिन्न अस्पतालमा वर्षौंदेखि कोमामा रहेको निष्कर्ष निकालेको थियो । तर नेपाली कामदारलाई स्वदेश झिकाउने र तिनीहरूको उपचार प्रबन्धको पहल गर्ने भन्ने कार्यदलको सुझाव कार्यान्वयनमा आउन सकेन ।

    उपचारमा समस्या
    कतारको सुविधा सम्पन्न अस्पतालमा वर्षौंसम्म उपचार गर्दा पनि सुधार हुन नसकेका बिरामीलाई नेपाल पठाएपछि भने परिवारका सदस्यले गतिलो उपचार प्रबन्ध गर्न सकेका छैनन् । आर्थिक अभावका कारण धेरैजसोले केही समय अस्पतालमा राखेर बिरामीलाई घरमै लगेका छन् । कतार पसेको आठ वर्षपछि फर्केका रुकुमका मनोज केसी ६ वर्षयता अचेत अवस्थामा हमाद अस्पतालको कोमामा थिए । दुई साताअघि नेपाल ल्याइएका उनलाई केही दिन पाटन अस्पतालमा राखेर रुकुम शंख गाविस २ स्थित घरमै पुर्‍याइयो । मनोजकी आमा बेलमताले आठ वर्षपछि अचेत अवस्थामा रहेको छोरालाई देख्न पाइन् ।

    मनोजका काका ताराचन्द्र केसीले भने, ‘अस्पतालमा उपचार गर्दा पनि कुनै सुधार नहुने र खर्च चर्को लाग्ने हुनाले जेसुकै पर्ला भनेर घरमै लगियो ।’ दुई वर्षको श्रमिक बिमा गरेर कतार गएका मनोज बिमा अवधिमै दुर्घटनमा परेर कोमामा पुगेका थिए । ताराचन्द्रले अहिले बिमा कम्पनीले बिमा रकम दिन नमिल्ने बताएको गुनासो सुनाए । २०६७ असारमा कतार पुगेका बर्दियाका हरि सात वर्षपछि नेपाल त फर्किए तर हल न चलको अवस्थामा । झन्डै पाँच वर्ष हमाद अस्पतालको कोमाबाट फर्काइएका उनलाई एक साता काठमाडौंको अस्पतालमा राखेर परिवारले बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍यायो । झन्डै एक महिनासम्म त्यहाँको अस्पतालमा उपचार गर्दा पनि कुनै सुधार नआएपछि र खर्च बढदै गएपछि परिवारले घरमै लगेर राखेको छ । हरिका दाइ शेरबहादुरका अनुसार भाइलाई ल्याएपछि तीन लाख रुपैयाँभन्दा धेरै उपचारमा खर्च भइसक्यो । उनले भने, ‘अस्पतालमा राख्न खर्चले पनि पुगेन, उपचार गर्दा सुधार पनि नभएपछि घर लग्यौं ।’ सौरापानी गोरखाका कालु गुरुङलाई पनि उनकी श्रीमती बेलगानीले एक साता मात्रै उपचार गरेर घरमै लगिन् । उपचार खर्चको अभाव भएपछि घर लैजानुको विकल्प नभएको कालुका छोरा वीरबलले बताए ।

    २०६८ मंसिर १६ देखि हमाद अस्पतालमा कोमामा रहेका बाग्लुङ हरिचौरका गिरीप्रसाद विक पनि भदौ १० मा नेपाल फर्काइए । उनकी श्रीमती घर व्यवहार छाडेर श्रीमानको उपचारमा काठमाडौंमा दौडधुप गरिरहेकी छन् । बयोधा अस्पतालमा श्रीमान्को उपचार गराइरहेकी कृष्णाकुमारीले भनिन्, ‘न घर लान सकिन्छ न अस्पतालमा महिनौंसम्म राख्न सकिन्छ ।’ यो बीचमा श्रीमानको उपचार र दौडधुपमा उनले झन्डै चार लाख रुपैयाँ खर्च गरिसकिन् । कृष्णा यतिखेर अलिक सस्तो अस्पतालको खोजीमा छिन् । उनले भनिन्, ‘न मर्नु न बाँच्नु जस्तो भएको छ । यति दिन उपचार गर्दा निको हुन्छ भन्ने भए पनि हुन्थ्यो नि ?’इकान्तिपुर



    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel