• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 19, 2016

    अञ्जु पन्तले आफ्नै कथामा फिल्म निर्माण


    आश्विन ४, २०७३- ‘एघार वर्षदेखि फिल्म खेल्ने अफर निरन्तर अस्वीकार गर्दै आएकी’ गायिका अञ्जु पन्तले आफ्नै कथामा फिल्म निर्माण गरिए नायिकाको भूमिका गर्ने बताएकी छन् ।

    ‘मेरो वास्तविक जीवनमा आधारित फिल्म बनाउन कोही निर्माता तयार त हुनुपर्‍यो,’ राजधानीको व्यस्त दैनिकी त्यागेर एक साता आराम गर्न वीरगन्ज आएकी गायिकाले कान्तिपुरसित भनिन् । आफ्नो संघर्ष, सफलता, जीवनका आरोहअवरोह लगायतका पक्ष प्रशंसकका लागि प्रेरणाको श्रोत बन्न सक्ने उनको बुझाइ छ ।

    डेढ दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय उनले हालसम्म एकल, युगल, पाश्र्व, भजन लगायत गरी करिब ६ हजार गीत रेकर्ड गरिसकेकी छन् । पछिल्लो समय ‘सुर्के थैली खै..’ गीतले युट्युबमा एक करोडभन्दा बढी हेरिएको रेकर्ड बनाएपछि उत्साहित उनले हाल ‘पूर्व–पश्चिम रेल...’ को सफलताले पनि हौस्याएको बताइन् । ‘श्रोताको अपार मायाले गर्दा अहिलेसम्म कामको कमी महसुस गरेकी छैन,’ उनले भनिन्, ‘फिल्मको मात्र नभई एल्बमका गितहरू पनि उत्तिकै गाउँदै छु ।’

    दैनिक पाँच वटासम्म गीतको अफर आउने गरे पनि आफूले छनोट गरी बढीमा दुइटासम्म रेकर्ड गर्ने गरेको उनले बताइन् । यसबाहेक देशभित्र मेला/महोत्सव आदिबाट आउने निम्तो स्विकार्ने र दुई महिनाभित्र कन्सर्टका लागि जापान, अस्ट्ेरलिया जाने निश्चित भइसकेको उनले बताइन् ।

    वीरगन्ज आएको मौकामा अञ्जुले बाल दिवसको दिन बालबालिकाहरूसँग बिताइन् । विभिन्न संघसंस्थाका लागि नि:शुल्क च्यारिटी सो गरिसकेकी उनलाई केही संस्थाले त्यस्ता सोबाट संकलित रकमको सदुपयोग नगरेको देख्दा दु:ख लाग्छ । समाजसेवा गरेर ‘प्रचारबाजी गर्न रुचाउने बानी नरहेकी’ उनी भविष्यमा आफ्नै फाउन्डेसन स्थापना गरेर यो क्षेत्रमा लाग्ने सोचमा छिन् । छिट्टै आत्मकथा निकाल्ने योजनामा पनि रहिछन् उनी ।
    १५ वर्षीया छोरी पारितोषिका तथा परिवारजनसँगै राजधानीमा बस्दै आएकी अञ्जुले छोरीले पनि दैनिक गायन अभ्यास गर्ने गरेको बताइन् । ‘उनको भ्वाइस क्वालिटी राम्रो छ,’ उनले भनिन्, ‘जीउडाल र उनको इच्छासमेत हेर्दा उनलाई मोडेल/नायिका बन्ने इच्छा छ । डक्टर पनि बन्न सक्छिन् । उनले इच्छा देखाए गायनमा पनि आउन सक्छिन् ।’

    पछिल्लो समय सामाजिक सञ्जालमा आफूबारे ‘अनर्गल कुराहरू’ सार्वजनिक हुनुले दु:खी बनाएको पनि उनले सुनाइन् । ‘यस्तो अनर्गल प्रचारबाजीले विश्वका विभिन्न मुलुकमा बस्नुभएका मेरा थुप्रै प्रशंसकहरू पनि मेरो स्वास्थ्य अवस्थालाई लिएर चिन्तित हुनुभएको छ,’ उनले भनिन्, ‘म एकदम स्वस्थ छु । काममा सक्रिय छु । मलाई केही पनि भएको छैन । तपाईंहरूले चिन्ता लिनु पर्दैन ।’ थुप्रै प्रशंसकहरूले दैनिकजसो विदेशबाट समेत फोन गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको उनले बताइन् ।

    गायक मनोज राजसँगको विवाह टुटेको निकै भइसके पनि तत्कालका लागि अर्को विवाह गर्ने खासै सोचाइ नभएको उनले बताइन् । ‘अब बिहे नै नगर्ने भनी प्रण गरेकी त छैन,’ उनले भनिन्, ‘हेरूँ, भोलि के हुन्छ, थाहा छैन ।’ अञ्जु वीरगन्जबाटै शनिबार राजधानी फर्किसकेकी छन् । उनी यहाँ रहेकी सानीआमाकहाँ बेलाबेला आउने गर्छिन् ।इकान्तिपुर


    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel