• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 21, 2016

    विद्यार्थी अझै त्रासमै



    आश्विन ६, २०७३- सात कक्षामा पढ्ने निकेश श्रेष्ठ बुधबार बिहान ९ बजे टोलाउंँदै जोरपाटी दक्षिणढोकाको आकाशदीप बोर्डिङ स्कुलको गेटमा आइपुगे । गेटको पूर्वतिरको भ्वाङ एकछिन नियाले र निन्याउरो अनुहार लगाउँदै गेटभित्र छिर्न खोजे । गेटको वातावरण अन्य दिनको भन्दा भिन्न थियो । सोमबारसम्म गेटमा परिचित पाले दाइले स्वागत गर्थे, बुधबार अपरिचित दुई प्रहरी थिए ।

    आफू पढ्ने विद्यालयमा बम पडकेको खबर सुनेर उनी मंगलबार त्रसित हुँदै विद्यालय आएका थिए । विद्यालय आइपुग्दा भीडभाड थियो । भीड छिचोल्दै भित्र छिरे पनि एक पिरियडभन्दा बढी पढाइ भएन ।

    बिहीबारबाट परीक्षा भएकाले त्रासकै बीच उनी बुधबार पनि विद्यालय आएका थिए । मनमा उस्तै त्रास थियो । विद्यालय परिसरभित्र छिरेलगत्तै आफ्ना कक्षाका साथी देखेपछि बल्ल उनको मुहारको रंग बदलियो । उनी साथीहरूको हुलमा घुलमिल भए ।
    ‘स्कुल आउन डर लागिरहेको थियो,’ कान्तिपुरसँग उनले भने, ‘परीक्षा भएकाले आएको ।’

    माओवादी कम्युनिस्ट केन्द्रको भ्रातृ संगठनले माग पूरा गर्न दबाब दिन मंगलबार बम पडकाएको आकाशदीपमा बिहान ८ बजे पुग्दा विद्यालय परिसर सुनसान थियो । मंगलबार बिहान चन्दा असुल्न राजनीतिक मागको आडमा बम पडकाएर विद्यालयको पढाइ अस्तव्यस्त बनाए । बेलुका परेको वर्षाले भेल विद्यालय परिसरमा प्रवेश गरेर हिलाम्मे बनाएको थियो ।
    विद्यालयका कर्मचारी गेटमा उभिएर पढाइ हुन्छ कि हुन्न भन्ने विद्यार्थीका अभिभावकको जिज्ञासा मेटाइरहेका थिए । नजिकै महानगरीय प्रहरी वृत्त बौद्धले सुरक्षाका लागि खटाएका दुई प्रहरी सुरक्षाका लागि बसेका थिए, केही कर्मचारी विद्यालयको मैदानमा भरिएको हिलो सोहोर्न व्यस्त थिए । विद्यालयका प्रधानाध्यापक मदन सुवेदी बिहानै सुरक्षा बैठकमा सहभागी हुन निस्किएका थिए ।

    विद्यालयका कर्मचारीका अनुसार कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् । तर बुधबार बिहान १० बजेसम्म पनि विद्यालयमा विद्यार्थी करिब आधामात्रै देखिए ।

    विद्यालयका इञ्चार्ज सन्दर्भ केसीका अनुसार मंगलबार केहीबेर पढाइ भएपछि विद्यालय बन्द भयो । बुधबार बाढीका कारण कक्षा १ का साना विद्यार्थीबाहेकको नियमित पढाइका लागि विद्यालय खुले पनि विद्यार्थीको संख्या पातलो थियो ।

    आकाशदीपबाट पूर्व करिब सय मिटरको दूरीमा रहेको मनकामना उच्च मावि पनि सुनसान थियो । बाढीको भेलले विद्यालय पनि हिलाम्मे रहेछ । मंगलबार बम पडकिएपछि तीन पिरियड पढाइपछि सबै विद्यार्थीलाई बिदा दिएको विद्यालय प्रशासनले बुधबार विद्यालय खोलेन ।

    आकाशदीपका प्रधानाध्यापक सुवेदीका अनुसार तल्लो तहका कक्षाका विद्यार्थीको संख्या केही भए पनि माथिल्लो कक्षामा ८० प्रतिशतसम्म विद्यार्थी आएका थिए । बालबालिकामा त्रास बढेकाले दुई पिरियडसम्म कोर्सको पढाइभन्दा मनोविज्ञान बुझेर अन्तक्र्रिया गरिएको र अवस्था सामान्य भएपछि नियमित पढाइ सुरु गरिएको सुवेदीले बताए । ‘प्रारम्भमा विद्यार्थीको मनोविज्ञान हेर्‍यौं, प्राय: मा त्रास कम देखेपछि नियमित पढाइ सुचारु गर्‍यौं ।’

    आश्वस्त बनाउँदै प्रहरी
    मंगलबार काठमाडौंका १० र ललितपुरका एक विद्यालयमा बम राखेर त्रास फैलाइएको थियो । तीमध्ये अधिकांश विद्यालय जोरपाटी क्षेत्रका थिए । अधिकांश विद्यालयको पढाइ नै प्रभावित हुने देखिएपछि उनीहरूलाई सुरक्षामा आश्वस्त बनाउन महानगरीय प्रहरी परिसर काठमाडौंले त्यस क्षेत्रका करिब एक सय विद्यालयका सञ्चालक र प्रधानाध्यापकसँग बुधबार बिहान छलफल गरेको थियो ।

    निजी विद्यालयको संगठन प्याब्सनको जोरपाटी फोरमसँग आबद्ध विद्यालयसँग परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले अन्तक्र्रिया गर्दै ‘विद्यालयमा बम पड्काउँदै हिँड्ने आतंककारी समूहका सबै सदस्यलाई कानुनी कारबाहीको दायरामा ल्याइने’ आश्वासन दिँदै सुरक्षा प्रबन्धमा प्रहरीमाथि विश्वास गर्न आग्रह गरेका थिए ।

    ‘प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको र अन्यलाई समेत खोजी गरी चाँडै पक्राउ गर्ने वचन दिएको छ,’ छलफलमा सहभागी सुवेदीले भने, ‘प्रहरीमाथि विश्वास गर्नुको विल्कप छैन, हामी पनि विस्तारै अवस्था सामान्य बनाउनेतिर प्रयासरत छौं ।’

    काठमाडौं परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले मंगलबारको घटनापछि शैक्षिक क्षेत्र केन्द्रित सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएर सोहीअनुसार प्रहरी परिचालन गरिएको बताए । घटनामा संलग्नको खोजी र यस्ता गतिविधि पुन: गर्न सक्ने समूहमाथिको निगरानी बढाएको जानकारी दिँदै उनले भने, ‘सुरक्षा प्रबन्धमा चुक नहुने गरी सुरक्षा रणनीति कार्यान्वयनमा आइसकेको छ ।’इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel