• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Sunday, September 18, 2016

    भाइबरबाट फोटो देखाएर विदेशीलाई बालबालिका सप्लाई !



    २ असोज, काठमाडौं । अमेरिकी नागरिक केनेथ जोसेफसँगै नेपाली बुद्ध पतुवार (लुच्चे) यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को हिरासतमा छन् । उनीहरु संगठित रुपमा बाल यौनदुराचार गरेको आरोपमा हिरासतमा पुगेका हुन् ।

    पतुवार काठमाडौंमा बसेर यौन क्रियाकलापका लागि बालबालिका उपलब्ध गराउने मुख्य नाइके भएको खुलेको छ ।

    सन् २०१४ देखि ६ पटक नेपाल आइसकेका जोसेफसँगै पतुवारले अरु थुप्रै  विदेशीलाई बालबालिका सप्लाई गर्ने गरेको गत साता उद्धार गरिएका बालकहरुले सिआईबीसँगको बयानमा बताएका छन् ।

    गत भदौ २४ गते ठमेलबाट पक्राउ परेका पतुवारले गाउँ-गाउँबाट बालबालिका खोजेर ल्याउने र विदेशीलाई सप्लाइ गर्ने गरेको भेटिएको सिआईबीका प्रमुख डिआईजी नवराज सिलवालले बताए ।

    फोटो देखाएर बालकको सप्लाई

    पतुवार ठमेलमा बसेर विदेशीलाई बालक सप्लाई गर्ने मुख्य नेपाली गिरोह भएको सिआईबीको दावी छ । गत भदौ २४ गते सिआईबीले बाल यौनदुराचारको आरोपमा अमेरिकी नागरिक जोसेफलाई पक्राउ गर्दै तीन जना बालकको पनि उद्धार गरेपछि विदेशीलाई बालबालिका सप्लाइ गर्ने पतुवारको बारेमा खुलेको हो ।

    सिआईबीका प्रमुख डिआईजी सिलवालका अनुसार पतुवारले नेपालबाट विभिन्न बालकहरुको फोटो खिचेर पठाउने र विदेशीलाई नेपालमा बोलाएर ती बालक उपलब्ध गराउने गरेका थिए ।

    ‘आफ्नो सम्पर्कमा आएका विदेशीलाई विभिन्न बालकको फोटो खिचेर भाइबर तथा हृवाटसअपबाट पठाउने र जो मन पराउँछन् तिनलाई ल्याएर सुम्पने पतुवारको धन्दा रहेछ,’ डिआइजी सिलवालले भने ।

    त्यसका लागि उनले काठमाडौंमा अभिभावक नभएका बालकदेखि गाउँबाट समेत बालकहरु ल्याउने गरेको भेटिएको छ । यिनले ल्याउने अधिकांश बालकहरु १० देखि १४ वर्षसम्मका थिए ।

    बालकहरूलाई कोठामा ल्याउने, विभिन्न लागूऔषध खुवाउने र जबर्जस्ती गरेर पनि यौनक्रियामा लगाउने गरेको सिआईबीको अनुसन्धाबाट खुलेको छ ।

    पतुवारले यौन दुराचारको लागि विदेशीलाई सप्लाई गरेका १० जना बालकहरु सिआईबीको सम्पर्कमा आइसकेका छन् । ब्युरोका डीएसपी ज्ञानेन्द्र फुयाँलका अनुसार, २४ गते जोसेफको कोठाबाट तीन जनासहित १० जना बालकले सिआइबीमा उजुरी गरेका छन् ।

    उजुरी गर्ने १० जना त जोसेफबाट मात्रै पीडित हुन् । ती बाहेक अन्य बालकको पनि सिआईबीले खोजी गरिरहेको छ ।

    को हुन् पतुवार ?

    २१ वर्षीय बुद्ध पतुवार काठमाडौंको स्वयम्भुमा बस्छन् । आमा-बाबुसँगै बस्ने पतुवारसँग अमेरिकी नागरिक जोसेफको भेट करिब २ वर्ष अघि ठमेलमा भएको हो ।

    भेटका क्रममा जोसेफले पतुवारसँग बालक आवश्यक भएको सुनाएपछि यो धन्दा सुरु गरेको सिआईबीको अनुसन्धानबाट खुलेको छ । सामान्य परिवारका पतुवारले यौन दुराचारीहरुलाई बालक सप्लाइ गरेर राम्रो पैसा कमाएको डीएसपी फुयाँल बताउँछन् ।

    ‘सामान्य परिवारको मान्छेले फेरी-फेरी महँगा मोटरसाइकल कसरी चढ्न सक्छ ? यसले थुप्रै बालक यौन दुराचारीलाई सुम्पिएको हुन सक्छ, हामी अनुसन्धान गर्दै छौं,’ डीएसपी फुयाँलले भने ।

    दुई वर्षको बीचमा ६ पटक नेपाल आएका जोसेफलाई पतुवारले कहिलेदेखि बालक सप्लाई गर्न थाले भन्ने खुलेको छैन । तर, सिआईबीको सम्पर्कमा आएका बालकहरुले भने पतुवारले जोसेफसँगै अन्य विदेशीलाई पनि बालकहरु सप्लाई गर्ने गरेको बयान दिएको डिआइजी सिलवाल बताउँछन् ।

    पतुवारले आफ्नै घरवरिपरिकै बालकहरुलाई फकाउने र अनेक प्रलोभन देखाएर ठमेलसम्म ल्याएर यौन दुराचारीको जिम्मा लगाउने गरेका थिए । त्यसबापत बालकहरुलाई एक हजारदेखि दुई हजारसम्म दिने गरेका थिए । आफैंले भने कति रकम लिने गर्थे भन्ने खुलेको छैन ।

    बाल यौन दुराचारीको जालो खोज्दै सिआइबी

    नेपालमा बाल यौन दुराचारी सक्रिय भइरहेको सूचना सिआईबीमा सिंगापुरबाट आएको थियो । केही महिनाअघि सिंगापुरमा त्यहीँका नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका थिए । उनी नेपालमा पनि आएको देखिएपछि सिंगापुर प्रहरीले नेपालमा खबर गरेको थियो ।

    त्यसपछिको अनुसन्धानबाट नेपालमा लामो समयदेखि सक्रिय जोसेफ र बालक सप्लाई गर्ने पतुवार पक्राउ परेको डिआइजी सिलवालले बताए । जोसेफको अमेरिकामा पनि पक्राउ सूचीमा नाम रहेको सिआईबीले जनाएको छ ।

    जोसेफ पक्राउ परेसँगै नेपालमा अन्य बाल यौन दुराचारीहरु पनि सक्रिय हुन सक्ने भन्दै सिआईबीले अनुसन्धान अगाडि बढाएको छ ।

    जोखिममा बालगृहका बालबालिका
    करिब २ वर्षअघि ललितपुरबाट कुख्यात बाल यौन दुराचारी क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकयन्टोस पक्राउ परेका थिए । भारत तथा अफ्रिकी मुलुकमा समेत बाल यौन दुराचारीको आरोपमा मोष्ट वान्टेड सूचीमा रहेका म्याकन्टोस बालगृहलाई सहयोग गर्ने नाममा नेपाल आइपुगेका थिए ।

    उनले जावलाखेलस्थित एक बालगृहमा जाने र सहयोगको नाममा बालकहरुलाई होटलमा लगेर अप्राकृतिक यौन कार्यमा लगाउने गरेको खुलेको थियो ।

    गत साता पक्राउ परेका जोसेफले पनि बालगृहमा सहयोग गर्ने बहानामा बालकहरुमाथि यौन शोषण गर्ने गरेको खुलेको हो । काठमाडौंका विभिन्न बालगृहमा जाने र बालकहरुसँग नजिक भएर यौन शोषण गर्ने गरेको भेटिएको हो ।

    सिआईबीका प्रमुख सिलवालका अनुसार, नेपालका बालगृहहरु यौन दुराचारीहरुको निशानामा पर्ने गरेका छन् । उनले भने ‘सयौं बालगृह सञ्चालनमा छन्, तिनको निगरानी हुन सकेको छैन । अपराधीहरुले त्यसैलाई निशानामा पार्ने गरेकोले सचेत हुन जरुरी छ ।’ विदेशीहरू बस्ने होटलहरुमाथि पनि निगानी बढाउनुपर्ने देखिएको डिआइजी सिलवाल बताउँछन् । ओन लाइन खबर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel