• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Friday, November 18, 2016

    ठमेल मा चाइना टावन...........



    सञ्चयकोष भवन नाघेर ज्याठा सुरु हुनेबित्तिकै चकाचौंध उज्यालोले छोप्यो। त्यसै त हरेक साँझ दिपावली गर्ने ठमेल, त्यसमाथि वर्षौंपछि लोडसेडिङ हटेको बेला।
    सडकमा हिँड्ने पर्यटकले आफूलाई नदेख्लान् कि भनेर हानाथाप अनि कोचाकोच गर्दै धपक्क बलेका बोर्ड त सधैंको उस्तै हो। तर, लामो अन्तरालपछि यता आउँदा यसपालाको अचम्म अर्कै थियो। कुनै समय यसरी भित्र बल्ब राखेर उज्यालिएका बोर्डमा अंग्रेजी अक्षरको मारामार चल्थे। यतिबेला भने म जताततै नबुझिने चिनियाँ लिपी झल्झली बलेको देखिरहेको थिएँ।
    यो के हो? के विचित्र भएछ ठमेलमा?
    अलिक पर एक ठाउँ धुवाँ पुत्पुताउँदै थियो। मानिस ठेलामा पोल्दै गरेको मकै पर्खिरहेका थिए। मैले छेवैमा गएर एक जनासँग आफू पुग्ने ठाउँको जानकारी लिन खोजेँ। उनी ट्वाँ परेर मलाई हेरिरहे। पछाडि बसेका अर्का एक तन्नेरीले, ‘हत्तेरी दाइ, त्यो त चाइनिज हो’ भनेपछि वरिपरिका मानिस गलल्ल हाँसे।
    त्यस साँझको नयाँ ठमेलले एक सातासम्मै झक्झक्याइ रह्यो। म यसको उत्खनन् गर्न फेरि पुगेँ।
    ...
    मंसिरको पहिलो दिन ज्याठाको त्यही गल्ली पस्दै गर्दा मेरो दिमागमा निकैअघि श्यामश्वेत जमानाकी हेलेनले कागजको छाता घुमाउँदै कुनै रेस्टुरेन्टमा गाएको दृश्य नाच्दै थियो
    ‘रंगीन बहारोँसे है गुलजार चाइनाटाउन
    सहरवालोँकी शाने बहार चाइनाटाउन
    आके तो देखो एकबार चाइनाटाउन’
    म यो सहरमा भर्खरै जन्मिएको त्यही चाइनाटाउन खोज्दै पसिरहेको थिएँ, जसको सुरुआत सन् १५९४ मै फिलिपिन्सको मनिलाबाट भएको थियो। चीनको तटीय क्षेत्रबाट अवसर खोजी गर्दै भौंतारिएकाहरू जताजता पुगे, एकसाथ रहे। नयाँ भाषा र संस्कृतिसँग तत्काल घुलमिल हुन नसक्दा उनीहरूले यस्ता बस्तीमा आफ्नै तौरतरिका अपनाउँदै गए। यसरी चिनियाँहरू पुगेको प्रत्येक महानगरमा एउटा नयाँ स्वाद भित्रियो।
    सोह्रौं शताब्दीमै चिनियाँहरू जापान, फिलिपिन्स र भियतनाममा विस्तार भइसकेका थिए। छिमेकी भारतमा पाँचौ शताब्दीदेखि नै उनीहरूको उपस्थिति देखिन थाले पनि कोलकातामा पहिलो चाइना टाउन १७८० मा मात्रै स्थापित हुनसक्यो।
    रेशम र सुतीको व्यापारले १८३० मा चिनियाँहरूलाई बेलायत लग्यो। अमेरिकामा भने सुनखानीको उत्खनन् र अन्तरमहादेशीय रेलवे लाइनको विस्तारका निम्ति मजदुरी गर्न पहिलोपटक चिनियाँहरू १८५० देखि सानफ्रान्सिस्को ओर्लिन सुरु गरे।
    आज विश्वका प्रत्येकजसो ठूला महानगर को गहनाजस्तै बन्न पुगेको छ, चाइनाटाउन। यो नामबाट अनेक साहित्य रचिएका छन्, असंख्य सिनेमा बनेका छन्, शास्त्रीय संगीतका गम्भीर धुनहरू तयार भएका छन्।
    काठमाडौंमा भर्खर देखिन थालेको यो दृश्य भने चाइनाटाउनको संकेत मात्र हो भन्दा फरक पर्दैन।


    कसरी सुरु भयो यो?
    म यो जवाफको खोजीमा ज्याठाकै एउटा साँघुरो गल्लीभित्र खोलिएको चाचा रेस्टुरेन्ट पसेँ। धेरै पहिलेदेखि चिन्दै आएको रेस्टुरेन्ट भएकोले मलाई सुरुमा यहाँबाटै यो विषय छाम्न सजिलो पथ्र्यो।
    ‘पाँच वर्षयता मात्र उल्लेख्य संख्यामा देखिन थालेका चिनियाँहरूले दुई– तीन वर्षयता त विचित्रै गर्न थालेका छन्,’ रेस्टुरेन्टका मालिक बुद्धसिंह गुरुङ भनिरहेका थिए, ‘अब त दिन–प्रतिदिन डढेलो लागेजस्तै उनीहरूकै आगमन र व्यापार बढ्दो छ।’
    दुई जापानी युवक मासाया र कियोनोरीले स्थापना गरेको चाचा रेस्टुरेन्टमा कुनै समय ९९ प्रतिशत जापानी ग्राहक हुन्थे। तर, स्थिति फेरिँदै गयो। आफूकहाँ कामदारका रूपमा भित्रिएका बुद्धलाई नै रेस्टुरेन्ट सुम्पिएर दुवै जापानी स्वदेश फर्के।
    ‘हिजोआज मेरो रेस्टुरेन्टका पचास प्रतिशतभन्दा बढी ग्राहक चिनियाँ भएका छन्,’ जापानी र इटालियन खाना पस्कँदै आएका उनले भने, ‘अब चिनियाँ परिकार पनि थप्दै लगेको छु।’
    ज्याठामै चिनियाँ रेस्टुरेन्ट जतिसुकै बढे पनि त्योभन्दा बढी मात्रामा चिनियाँ पर्यटक र अन्य व्यापारी बढेकाले आफूहरूलाई झनै फाइदा भइरहेको बुद्धको भनाइ थियो।
    मैले अर्का नेपाली व्यवसायी भेटेँ, टोखाका बाबुकाजी लावत। ज्याठामै सात वर्षअघि उनले खोलेको होटलको नाम थियो ‘नमस्ते’। अब भने अलिक पर खोलिएको होटलको नाम भएको छ, ‘फुजिया गेस्ट हाउस’।
    यसबीच चीनको पहिचानले बाबुकाजीको होटल मात्र होइन, जीवनमा पनि प्रवेश गरेको छ। बेइजिङको सिजा च हवेबाट घुम्न आउँदा उनकै होटलमा बसेकी लि चिङ फाङलाई बिहे गरेपछि होटलको ९० प्रतिशत ग्राहकै चिनियाँ हुन थालेका छन्।
    अहिले त बाबुकाजी र ली दम्पत्तिको एउटी सानी छोरी पनि छिन्। उनी आमासँग मन्डारियन (चिनियाँ) भाषामा कुरा गर्छिन् भने बासँग नेपालीमा। भाषा मात्र होइन, उनलाई बाआमाले नाम पनि बेग्लाबेग्लै दिएका छन्। नेपालीमा बिलिना र चिनियाँमा ली सिया।
    ‘ठमेलमा अरू पनि धेरैले चिनियाँ युवती बिहे गरेका छन्,’ बाबुकाजी भन्छन्, ‘पाँच–छ जना त मेरै साथी छन्।’
    हामी कुरा गरिरहेकै बेला बाटोमा हिँड्ने चिनियाँ पर्यटकहरू एकैछिन रोकिएर बाबुकाजीसँग भलाकुसारी गर्दै बढिरहेका थिए। यसबीच उनी मण्डारियन भाषा पनि बोल्न थालिसकेका छन्।
    ‘पहिले काठमाडौं गेस्टहाउस भएको ठाउँतिर पश्चिमा पर्यटकको भीड लाग्ने गरेको थियो,’ बाबुकाजीले भने, ‘ज्याठा खाली र सस्तो भएकाले चिनियाँहरू यता आकर्षित भए।’
    अहिले ठमेलमै ६० प्रतिशत चिनियाँ पर्यटकले ढाक्न थालेपछि ज्याठाको चहलपहलै अर्को भएको उनको अनुभव छ। बेलाबेला ससुराली पनि गइरहने बाबुकाजीका अनुसार अहिले नेपालमा आउने गरेका चिनियाँ पर्यटकमा २० प्रतिशत जति ‘बी ग्रेड’ का छन् भने ८० प्रतिशत ‘सी ग्रेड’का। पर्यटककै हिसाबले यहाँ चिनियाँ व्यावसाय पनि अधिकांश ‘सी ग्रेड’ कै भित्रिरहेको उनले बताए।
    ‘पहिले आउने पर्यटक काठमाडौं घुमेरै फर्किने गरेकामा अब भने अधिकांश चिनियाँहरू ट्रेकिङसमेत जानथालेका छन्,’ उनले भने, ‘किनमेलमा सबैभन्दा बढी रमाउने उनीहरू प्रत्येकले औसत पचास हजारको सपिङ गरेकै हुन्छन्।’ बाबुकाजीका अनुसार यो सबै हिसाबले अन्य कुनै पनि मुलुकका पर्यटकभन्दा चिनियाँहरू बढी खर्चिला छन्, सेतोपाटि

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel