• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Tuesday, November 15, 2016

    डा. गोविन्द केसी अनसन मा, नजिक को साथी डीन मा .............

    मुटुमा सबभन्दा ठूलो चोट त्यसले दिन्छ, जो मुटुको सबभन्दा नजिक हुन्छ।

    डा. गोविन्द केसी अहिले यही चोटसँग जुधिरहेका छन्।

    दसौंपटक अनसनरत केसीको प्रमुख माग चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठता आधारमा डिन नियुक्त गरियोस् भन्ने हो। यसको आसय उनी यसपालि नवनियुक्त डिन डा. केशवप्रसाद (केपी) सिंहविरुद्ध उभिएका छन्। सिंह अरू कोही होइनन्, केसीका सबभन्दा निकट मित्र हुन् जसले पहिलो अनसनदेखि नवौंसम्म उनलाई साथ दिए। र, निरन्तर हौसला बढाए।

    मैले सिंहलाई दुईपल्ट भेटेको छु। दुवैपटक हाम्रो भेट अनसनस्थलमै भएको थियो। उनीहरू दुवै एकअर्कालाई ‘तिमी’ भनेर सम्बोधन गर्थे। सिंहले त केसीलाई कहिलेकाहीँ ‘तँ’ भनेर बोलाएको पनि मैले सुनेको छु।

    छैठौं अनसनको पहिलो दिन हुनुपर्छ, उनले कोठाभित्र छिरेर केसीसँग झोक्किँदै भने, ‘आखिर तँ अनसन बसेरै छाडिस् हैन, तँलाई के लाग्छ, यसरी भोकभोकै बसेर थिति बस्नेवाला छ?’

    केसी चुप्पै रहे।

    ‘एकचोटि होइन, दुईचोटि होइन, यसरी कतिदिन दुःख दिन्छस् तँ आफूलाई?’ उनले केसीसामु रिस पोखिरहे।

    बोली सुन्दा उनी केसीसँगै रिसाएझैं देखिन्थे, तर हाउभाउ हेर्दा यस्तो लाग्थ्यो, मानौं उनी आफैंसँग रिसाएका छन्! मानौं, चिकित्सा शिक्षामा थिति बसाल्न आफ्ना ‘परममित्र’ निरन्तर भोकभोकै बस्दा पनि केही गर्न नसकेकोमा हिनताबोधले ग्रस्त छन्! यो मलाई यस कारण लाग्यो, किनकि उनी एकछिनमै नम्र भएर केसीको हात मुसार्दै भनिरहेका थिए, ‘तँ नआत्ती, हामी छौं नि तेरो साथमा।’

    सिंहको त्यो ढाडस मौखिक लोलोपोतो मात्र थिएन। उनी सच्चा हृदयले केसीको सिद्धान्तसँग सहमत थिए। उनको लडाइँमा अग्रपंक्तिमै रहेर साथ दिएका थिए। अरू वरिष्ठ डाक्टरहरू अनसनस्थलमा छिर्नधरि धर्मराउने बेला उनी आएर हौसला मात्र बढाउँथेनन्, केसीको स्वास्थ्यबारे जानकारी पनि लिन्थे। उनको शरीरमा चढाइएको सलाइन सकियो कि सकिएन भनी जाँच्थे। सलाइन सकिन–सकिन लागेका बेला उपचारमा खटिएका डाक्टर तथा नर्सलाई सतर्क गराएको मैले नै देखेको छु। मध्यराति पनि केसीको स्वास्थ्य स्थिति बुझ्न आइरहने गरेको उनका सहयोगी बताउँछन्।

    यहाँसम्म कि, अहिलेजस्तै वरिष्ठता मिचेर डिन बनाइएका डा. शशि शर्माविरुद्ध पाँचौं अनसन बस्न खोज्दा दलबलसहित आएकाहरूले केसीलाई अनसनस्थलसम्म पुग्नबाटै रोक्न खोजेका थिए। केसी र शर्मा समर्थकबीच झडपकै स्थिति बनेको थियो। त्यो बेला केसीलाई च्याप्प अंगालो मारेर भीडको बीचबाट डोर्याउँदै अनसनस्थलसम्म पुर्याउने उनै सिंह थिए। उनले केसीविरुद्ध नाराबाजी गरिरहेको भिडलाई चुनौती दिँदै भनेका थिए, ‘ल हेरौं, टिचिङमा आएर डा. गोविन्द केसीमाथि हात हाल्ने ताकत कसमा रहेछ?’

    यतिसम्म गहिरो सम्बन्ध भएका केसी र सिंह आज लडाइँको दुई विपरीत ध्रुबमा छन्।

    ‘सरकारले मेरो बेस्टफ्रेन्ड’ केपी (सिंह) लाई डिन बनाएर हाम्रो लडाइँमा फाटो ल्याउन खोजेको हो, ऊ यो पासोमा पर्ला भनेर मैले चिताएकै थिइनँ,’ दसौं अनसनको तेस्रो दिन मंगलबार डा. केसीले सेतोपाटीसँग भने, ‘सुरुमा त अरू साथीहरूले खबर सुनाउँदा पनि पत्याएको थिइनँ।’

    केसीका अनुसार डिन नियुक्तिको चर्चा चलिरहेकै बेला शुक्रबार दुवैबीच टेलिफोन कुराकानी भएको थियो।

    त्यतिबेला डिन सिफारिस गर्न नौ महिनाअघि गठित समितिले नाम पठाइसकेको थियो। वरिष्ठताका आधारमा डा. जगदीप्रसाद अग्रवाल सिफारिसको पहिलो नम्बरमा थिए। दोस्रोमा डा. केपी सिंह र तेस्रोमा डा. ज्योति शर्माको नाम थियो। यही आधारमा त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषदले कुनै पनि बेला निर्णय गर्न सक्छ भन्ने चर्चा थियो।

    कुराकानी क्रममा स्वाभाविक रूपले डिन नियुक्तिको प्रसंग उठ्यो। सुरुआतदेखि लडाइँमा साथ दिँदै आएका सिंहले अप्रत्यासित रूपमा सोधेछन्, ‘तिमी यसपालि पनि डिन नियुक्तिलाई लिएर अनसन बस्छौ?’

    केसीले जवाफ दिए, ‘वरिष्ठताका आधारमा डिन नियुक्ति हाम्रो ‘बटमलाइन’ हो। यही थिति बसाल्न तिमीले–हामीले यत्रो लडाइँ लड्यौं। आज पनि वरिष्ठता मिचिन्छ भने म अनसन बस्छु।’

    उनले केसीलाई सम्झाउन खोजे, ‘यसरी पटक–पटक अनसन बस्दा समस्या होला, किन कष्ट गर्छौ?’

    केसी मानेनन्।

    यही क्रममा सिंहकै वरिष्ठताको कुरा उठ्यो।

    ‘पहिले पनि वरिष्ठताको कुरा उठ्दा ऊ (केपी) ‘म पनि सिनिअर हुँ नि’ भन्थ्यो। म जवाफ दिन्थेँ, तिमी सिनियर हौ, तर सिनियर–मोस्ट होइनौ। हामीले जुन थितिको कुरा गरेका छौं, त्यसमा वरिष्ठ भनेको वरिष्ठ नै हुनुपर्छ,’ त्यस दिन सिंहसँगको टेलिफोन वार्ता सम्झँदै केसीले भने।

    ‘तिमीले पहिले पनि मलाई सहयोग गर्यौ, यसपालि पनि सहयोग गर्नुपर्छ,’ केसीले पटक–पटक सम्झाउन खोजे, ‘वरिष्ठताबाहेक अरू आधारमा डिन नियुक्त गरियो भने थिति बिग्रन्छ।’

    सिंहले आफ्नो राय नै नदिई कुरा टुंग्याए। यति मात्र सोधे, ‘तिमीले भनेजस्तो वरिष्ठता आधारमा भएन भने अनसन बस्छौ त?’

    केसीले जवाफ दिए, ‘बस्छु।’

    भोलिपल्ट शनिबार बेलुकी सिंहलाई नै डिन नियुक्त गरिने हल्ला चल्यो। शुभेच्छुक तथा सहयोगीहरूले यो खबर केसीलाई सुनाए। उनले पत्याएनन्। भने, ‘मैले हिजै मात्र गफ गरेको। उसलाई मैले राम्ररी सम्झाएको छु। ऊ सरकारको जालसाजीमा पर्दैन।’

    केसीले हल्लालाई गम्भीर रूपमा लिएनन्। उनी सुर्ताइरहेका साथीहरूको छलफल बीचैमा छाडेर आफ्नो क्वार्टरमा सुत्न गए।

    नभन्दै आइतबार त्रिवि कार्यकारी परिषदले वरिष्ठता मिच्दै दोस्रो प्राथमिकताका सिंहलाई डिन नियुक्त गरेको खबर आयो। केसीले तै पनि पत्याएनन्।

    ‘हैन, उनको नाम मात्र सिफारिस भएको होला!’ केसीले खबर ल्याउने साथीहरूलाई भने, ‘ऊ आफ्नै मान्यताविपरीत कहाँ डिन बन्न जान्छ?’

    ‘हैन सर, आज हल्ला मात्र होइन, निर्णय नै भइसक्यो,’ साथीहरूले भने।

    केसीको अनुहारको रङ बदलियो। तै साथीप्रति विश्वास टुटेको थिएन। खबर झुटो होला भन्ने आस मनमा बाँकी थियो।

    उनले तुरुन्तै सिंहलाई फोन गरे। पहिलो घन्टीमा फोन उठेन। पछि सिंहले नै ‘कलब्याक’ गरे।

    ‘के हो, तिमी त डिन भयौ रे?’ फोन उठ्नासाथ हेलो पनि नभनी केसीले सोधे।

    सिंहले नै खबर पुष्टि गरेपछि केसीलाई पत्याउन कर लाग्यो। उनले भने, ‘हेर केपी, तिमी (डिन) नबस, यो तिमी र मबीच फाटो ल्याउने कोशिस हो, आइओएममा जुन थिति बसाल्न हामी यतिका वर्ष लड्यौं, त्यसलाई कमजोर पार्ने कोशिस हो। त्यसमाथि तिम्रो अवधि चार महिना मात्र बाँकी छ। यति कम समयका लागि वरिष्ठता मिचेर किन बित्थामा आफ्नो छवि बिगार्छौ?’

    उनले अगाडि भने, ‘तिमी मेरो बेस्टफ्रेन्ड हौ, यो लडाइँमा सुरुदेखि हामी सँगसँगै छौं भन्ने सबैलाई थाहा छ। तिमीलाई डिन बनायो भने मलाई अनसन बस्न गाह्रो हुन्छ र यो लडाइँ त्यत्तिकै तुहिन्छ भन्ने उनीहरूको खेल हो। तर केपी, वरिष्ठता मिचेर तिमीलाई नै डिन बनायो भने पनि म अनसन बस्छु। यो तिम्रो लागि पनि राम्रो हुँदैन, हाम्रो यति लामो सम्बन्धका बीचमा तिम्रैविरुद्ध अनसन बस्नुपर्दा मलाई पनि राम्रो लाग्दैन।’

    केसीको यस्तो भनाइमा सिंहको जवाफ थियो, ‘म नभए तेस्रो व्यक्तिलाई बनाइहाल्छ नि!’

    ‘तिमी बेस्टफ्रेन्डलाई बनाउँदा त अनसन बस्छु भने अर्को तेस्रो व्यक्तिलाई बनाए त अवश्य बस्छु, तर त्यो अनसन मेरो लागि सहज हुनेछ,’ केसीले भने, ‘वरिष्ठता मेरो बटमलाइन थियो र अहिले पनि छ। वरिष्ठता मिचेर मेरो बेस्टफ्रेन्डलाई नै ल्याए पनि म स्वीकार गर्दिनँ।’

    केसीले आफ्नो बोली पुर्याए। निकट साथीलाई डिन बनाएर ल्याउँदा पनि उनी सिद्धान्तविरुद्ध गएनन्। र, त्यसै दिन आइतबार बेलुकी ५ बजेबाट दसौं अनसन सुरु गरे।

    संयोग कस्तो भने, वरिष्ठता मिचेर डिन नियुक्त भएका जुन शशि शर्माविरुद्ध केसी र सिंहले एकसाथ आन्दोलन छेडे, आइतबार सिंहको स्वागत र पदाबहालीमा उनै शर्मा अग्रपंक्तिमा थिए।

    केसीको भनाइ छ, ‘सत्याग्रह’ आन्दोलन फितलो पार्ने उद्देश्यले नै सिंहलाई डिन बनाइएको हो। हुन पनि वरिष्ठता आधारमा पहिलो सिफारिसमा परेका अग्रवालको नाम मिचेर उमेर हदका कारण फागुन १० मा अवकाश पाउन लागेका सिंहलाई डिन बनाउनुमा अर्को कुनै कारण देखिन्न।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले सेवा प्रवेशका आधारमा सिंह अग्रवालभन्दा वरिष्ठ रहेको जिकिर गरेका छन्। तर, खनियाँले जानाजान के बुझ पचाएका छन् भने कुनै पनि वरिष्ठ पदको निम्ति नियुक्ति गर्दा सेवा प्रवेशको तिथिलाई होइन, सम्बन्धित व्यक्ति उक्त पदमा जान योग्य भएको मितिलाई मान्यता दिइन्छ। आइओएम डिन नियुक्तिका हकमा भलै सिंह अग्रवालभन्दा पहिले सेवा प्रवेश गरेका होउन्, उनी आइओएम प्राध्यापक भएको अग्रवालभन्दा लगभग तीन वर्षपछि हो। अग्रवाल २०५९ फागुन १६ गते प्राध्यापक भएका थिए भने सिंह २०६२ भदौ २७ मा प्राध्यापक भएका थिए।

    केसीलाई यो पनि शंका छ, चार महिनाका लागि सिंहलाई डिन बनाएर मेडिकल माफिया र माफियाद्वारा निर्देशित सरकार आफ्नो अभीष्ट पूरा गर्न चाहन्छ।

    ‘केपी सोझो छ, उसलाई के–के भनेर प्रलोभन देखायो होला!’ केसीले सेतोपाटीसँग भने, ‘चार महिनाकै बीचमा उसको हातबाट सम्बन्धनका सबै काम फत्ते गर्ने मनसाय राखेको हुनसक्छ। आइओएममा सहायक डिनहरूको पद खाली छ। केपीमार्फत् आफ्ना राजनीतिक कार्यकर्ताहरू भर्ती गर्न खोजेका हुन सक्छन्।’

    डिन नियुक्तिलाई लिएर त्रिवि उपकुलपति खनियाँ अस्वाभाविक ढंगले केसीविरुद्ध खनिनुले पनि यही शंका जन्माउँछ।

    खनियाँले भनेका छन्, ‘गोविन्द केसीले भनेकै मान्छेलाई नियुक्त गर्नुपर्छ भन्ने केही छैन। केसी पनि हामीजस्तै काम गरेर तलब खाने हुन्।’

    यसो भन्दा उनले के बिर्से भने, जुन निष्ठा र नैतिकताका लागि केसी ‘सत्याग्रह’ आन्दोलनमा होमिएका छन्, त्यसमा खनियाँको बराबरी हुनै सक्दैन। उनी आफैं ‘प्लेगरिजम’ मा आरोपित व्यक्ति हुन्। अर्काको लेख–रचना तथा सिर्जना चोरेर आफ्नो नाममा प्रकाशित गर्नु बौद्धिक क्षेत्रमा सबैभन्दा ठूलो अपराधमध्ये मानिन्छ। विश्वविद्यालयको उपकुलपतिजस्तो व्यक्तिका लागि त यो शोभनीय र क्षम्य हुँदै हुन्न। अन्य मुलुकमा भइदिए ‘प्लेगरिजम’ गरेको सानो मात्र तथ्य भेटिए पनि आरोपित व्यक्तिले पदबाट राजीनामा दिनुपर्छ।

    केसीले जारी दसौं अनसनमा खनियाँको राजीनामा त्यसै मागेका होइनन्।

    उनको असन्तुष्टि सरकार, नेता र सांसदहरूसँग पनि छ।

    ‘मेडिकल कलेजहरूको लुट जारी छ। विद्यार्थीसँग जथाभाबी ५० लाखसम्म असुलिरहेका छन्। सरकार यसमा गम्भीर देखिँदैन,’ उनले भने, ‘यो सरकार पनि जनताप्रति होइन, माफियाप्रति नै जिम्मेवार देखिन्छ।’

    सांसदहरूले संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐन रोक्न हतार–हतार प्रस्ताव दर्ता गराएकामा पनि उनले असन्तुष्टि पोखे। कांग्रेस नेता सुजाता कोइरालालाई उपचार निम्ति राज्यकोषबाट ५० लाख रुपैयाँ दिने निर्णयको विरोध गरे। भने, ‘यो गरिब जनताप्रति धोखा हो। देशका स्वास्थ्य संस्थाहरू सुधार गर्नुपर्यो, जनतालाई स्तरीय स्वास्थ्य सेवा दिनुपर्यो भन्दा यहाँ कोही तयार हुँदैनन्। त्यससम्बन्धी कानुन संसदमा पेस भइसक्दा पनि पास गराउँदैनन्। उल्टो त्यो कानुन तुहाउन सांसदहरू नै लागिपर्छन्। अनि नेताहरू आफू भने राज्यकोषबाट खर्च गराएर विदेशमा उपचार गराउँछन्। गरिब नेपालीमाथि योभन्दा ठूलो अन्याय के हुन्छ?’

    ‘मेरो लडाइँ यस्तै बेथितिविरुद्ध हो,’ केसीले भने, ‘यसका लागि बेस्टफ्रेन्डविरुद्ध उभिनुपरे पनि म पछि हट्नेवाला छैन। बेथितिको यो रोग निको नपारी म चुप लागेर बस्दिनँ।’

    बेथितिविरुद्ध निष्ठाको यो लडाइँमा कुनै बेला एकसाथ उभिएका दुई ‘परममित्र’ लाई भलै नियतिले आपसमा जुधाएको छ, तर आफ्नो मित्र र मित्रताप्रति केसीको विश्वास अझै टुटेको छैन।

    ‘मलाई अझै के विश्वास छ भने, चिकित्सा क्षेत्र सुधारमा ऊ (केपी) प्रतिबद्ध छ। यो थिति बसाल्न उसले र मैले सँगै लडाइँ छेडेका हौं। आज आएर ऊ राजनीतिक कार्यकर्ता र मेडिकल माफियाका दलालहरूको पन्जामा पर्यो जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘लामो समयदेखि चिनेको र संगत गरेको आधारमा उसले आफ्नो दायित्व बुझेर पदबाट राजीनामा दिन्छन् कि जस्तो लाग्छ।’

    केसीले अगाडि थपे, ‘थिति बसाल्न मैले आफ्नो ज्यानको बाजी थापेको छु। उसले पनि आफ्नो दायित्व पूरा गर्छ भन्ने मलाई विश्वास छ। तर, उसले आफ्नो दायित्व पूरा गरेन भने पनि म आफ्नो दायित्वबाट विमुख हुँदिनँ।’

    ‘यत्ति हो, आफ्नै साथीविरुद्ध अनसन बस्नुपर्दा मन अमिलो भने हुँदो रहेछ,’ उनले भने।

    हुन पनि मुटुमा सबभन्दा ठूलो चोट त्यसले दिन्छ, जो मुटुको सबभन्दा नजिक हुन्छ।

    डा. गोविन्द केसी अहिले यही चोटसँग जुधिरहेका छन्।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel