• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 28, 2016

    टीकापुर घटना सम्बन्धमा संसदीय समितिमा चर्काचर्की



    आश्विन १२, २०७३- सांसदहरुबीच कैलाली टीकापुर घटनालाई लिएर संसदीय समितिमा चर्काचर्की परेको छ ।

    बुधबारको राज्य व्यवस्था समिति बैठकमा सत्तापक्ष नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको हो । समिति बैठकमा एमाले सांसदहरु टीकापुर घटनाका दोषी उम्कन नहुने पक्षमा उभिए भने मधेस केन्द्रित दलका सांसदहरुले राजनीतिक समस्या भएकाले सोहीबमोजिम समाधान गर्नुपर्ने बताएका थिए


    एमाले सांसद रामेश्वर फुयालले राज्यविरुद्धको घटनालाई राजनीतिक आडमा माफी दिन नहुने बताए । उनले भने, ‘प्रहरीलाई जलाउने र बालक मार्नेको मुद्दा फिर्ता लिन हुँदैन ।’

    तर, सत्तापक्ष नेपाली कांग्रेस सांसद फरमुल्लाह मन्सुरले कैलाली घटना राजनीतिक भएकाले त्यसैअनुसार समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कम्युनिष्टहरु एमाले, माओवादीको सशस्त्र संघर्ष होस् या २००७ सालको जनक्रान्ति किन नहोस् सबै घटना राजनीतिक नै हो, राजनीतिक रुपमै हल गर्नुपर्छ ।’

    ‘झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले’ मन्सुरले प्रश्न गर्दै भने, ‘माओवादीको दस वर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । त्यसबेला बालक मरेका थिएनन् ?’

    मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सांसद रामजनम चौधरीले एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाए । उनले भने, ‘टीकापुर घटनाका मुद्दा फिर्ताको सम्बन्धमा ओली नेतृत्वको सरकारले प्रक्रिया अगाडि बढाउने भने तर सरकारबाट बाहिरिनेबित्तिकै कुरा फेर्ने, यो दोहोरो चरित्र भएन र !’

    कैलाली र कञ्चनपुरका जनता आफ्नो हकहितका लागि लडेको दाबी गर्दै सांसद चौधरीले राज्यपक्षले एक इन्च पनि पछि हट्दैन भनेपछि टीकापुर घटना भएको उल्लेख गरे ।

    ‘पहाडमा कुरा उठ्नेबित्तिकै पूरा हुने तर तराई/कैलालीका जनताको माग सम्बोधन गर्न राज्यलाई किन यत्रो अप्ठ्यारो’ उनले आक्रोश पोखे ।

    टीकापुर घटनाका बेला थारुहरुको घर गृहप्रशासनको आडमा जलाएको आरोप लगाउादै सांसद चौधरीले भने, ‘गृहमन्त्री वा प्रहरीमाथि कसलाई कारबाही गर्ने ?’

    समिति बैठकमा उपस्थित गृहमन्त्री विमलेन्द्र निधिले भने सरकार र आन्दोलनरत पक्षबीच छलफल र घटनाका विषयमा अनुसन्धान भइरहेकोले उपयुक्त निष्कर्ष निकालिले बताए । पीडितलाई न्याय दिन र पीडकलाई दण्ड दिन सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री निधिले भने, ‘टीकापुर घटनाका दोषी उम्कँदैन, निर्दोष फस्नु हुँदैन’

    गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा ८ सुरक्षाकर्मी र १ बालकको ज्यान गएको थियो । इकान्तिपुर



    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel